नेप्से सीईओ छनोट : पाँच जना सर्टलिस्टमा, चैत ६ गते अन्तर्वार्ता
नेप्से सीईओ छनोट : पाँच जना सर्टलिस्टमा, चैत ६ गते अन्तर्वार्ता
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौं ।

 नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

समितिले गत फागुन १२ र १८ गते सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो। सर्टलिस्टमा चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, र हेमन्त बस्याल परेका छन्।

तर, युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की, र मुकुन्दराज जोशी भने सर्टलिस्टमा पर्न असफल भए।

सर्टलिस्टमा परेकाहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा हुने तय गरिएको छ। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि समितिले योग्य उम्मेदवारलाई सिफारिस गर्नेछ, जसको आधारमा मन्त्रिपरिषद् बैठकले सीईओ नियुक्त गर्नेछ।

नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट छनोट गर्न अर्थ मन्त्रालयले फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल सदस्य रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित