नेपालमा पहिलो पटक इन्जिनियरिङ विद्यार्थीहरूको लागि पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
नेपालमा पहिलो पटक इन्जिनियरिङ विद्यार्थीहरूको लागि पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौं,

उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा नयाँ सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा. लि. ले नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिताको आयोजना गर्दैछ। यो प्रतियोगिता २०८२ सालको वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने योजना बनाइएको छ।

नेपालका सबै युनिभर्सिटीबाट सिभिल र आर्किटेक्चर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी हुने अवसर हुनेछ। प्रतियोगितामा सामेल हुनका लागि विद्यार्थीहरूले कन्सेप्ट पेपर पेश गर्नु पर्नेछ। उत्कृष्ट १० कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा समावेश गरिने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले जानकारी दिनु भएको छ। सहभागीहरूले निःशुल्क प्रतियोगितामा भाग लिन पाउनेछन्।

प्रतियोगिता विशेष रूपले कोसी प्रदेशका पर्यटकीयस्थलहरूमा आधारित हुनेछ, जहाँ प्रतियोगीहरूले आफ्नो प्रोजेक्टको टार्गेट स्थलको भूगोल र परिवेशअनुसार पर्यटन केन्द्रित प्रोजेक्ट तयार गर्नुपर्नेछ। यसका लागि अनिवार्य स्थलगत अध्ययन गर्नुपर्नेछ र त्यसपछि ड्रइङ्ग, थ्री डी, प्रोजेक्ट डमी र प्रोजेक्ट प्रेजेन्टेशन तयार गर्नु पर्नेछ।

यस प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न र व्यावसायिक स्तरमा अघि बढ्न प्रेरित गर्ने अवसर प्रदान गर्नेछ। साथै, यो प्रतियोगिता नेपालका पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने, स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउने र नवीन संरचनाहरू विकास गर्ने महत्त्वपूर्ण कदम मानिएको छ।

प्रतियोगिताको प्रमुख उद्देश्य दिगो पर्यटन संरचनाहरू विकास गर्नु, स्थानीय सम्पदाको प्रवर्द्धन गर्नु र पर्यटन व्यवसाय प्रवर्द्धनका लागि नयाँ उपायहरूको खोजी गर्नु रहेको छ। साथै, यो प्रतियोगिता विद्यार्थीहरूलाई व्यावसायिक स्तरमा अवसर प्रदान गर्ने लक्ष्य राख्दछ।

प्रतियोगिता विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रथम हुने टिमलाई नगद एक लाख, द्वितीयलाई नगद पचास हजार, तृतीयलाई नगद पच्चीस हजार र सबै सहभागी टिमलाई दश हजार रुपैयाँका साथ प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्रदान गरिनेछन्। यस प्रतियोगितामा प्राबिधिक सहयोग नेपाल ईन्जिनियर्स एसोसिएसन र सोसाईटी अफ नेप्लिज आर्किटेक्टले गर्नेछन् भने कार्यक्रमको व्यवस्थापन काफल इभेन्टले गर्नेछ।

साताकाे चर्चित
सम्बन्धित