प्रधानमन्त्री ओलीद्वारा महिला नेतृत्व सम्मेलन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महिला नेतृत्व सम्मेलन उद्घाटन
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाको समान सहभागिता अनिवार्य भएको बताए।

प्रधानमन्त्री ओलीले भने, “रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषको समान सहभागिताबाट समाजलाई अगाडि बढाउनुपर्छ। सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ।”

उनले राष्ट्रपति, प्रधानन्यायाधीश लगायतका विशिष्ट पदमा महिलाको उपस्थिति सुनिश्चित भइसकेको उल्लेख गर्दै राजनीति मात्र होइन, शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा पनि महिलालाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “हामी अघि बढ्नुपर्छ, पछाडि फर्कनु हुँदैन। लोकतन्त्र हाम्रो राजमार्ग हो।”

प्रधानमन्त्री ओलीले कानुनहरू विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझावहरू अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरण प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए।

 

साताकाे चर्चित
सम्बन्धित