काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण भइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।
निर्माण सम्पन्न भएको मध्यभोटेकोशी आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नका लागि परीक्षणका क्रममा सुरुङ चुहिएको थियो। हाल सुरुङको मर्मत र सुधार कार्य तीव्र गतिमा भइरहेको छ।
१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशी आयोजनाबाट हिउँदयाममा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ। हिउँदयामको माग अनुसार विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाट महत्त्वपूर्ण भएकाले प्राधिकरणले आयोजनालाई छिटो सञ्चालनमा ल्याउन पहल गरिरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्रको टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन गरेको छ। टोलीले निर्माण प्रगतिबारे जानकारी लिँदै बाँकी काम चाँडो सम्पन्न गर्न निर्देशन दिएको छ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाको खिम्ती–बाह्रबिसे खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ। सबै टावरहरू खडा भइसकेका छन् र करिब एक किलोमिटर तार तान्न मात्र बाँकी छ।
४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालनमा ल्याएर मध्यभोटेकोशीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ। यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ।
कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई २०० केभीमा चार्ज गर्न आवश्यक कामहरूको प्रगति अनुगमन गर्दै बाँकी कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएको छ। टोलीले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटा क्षेत्रमा जारी तार तान्ने कार्यको पनि निरीक्षण गरेको छ।
हिउँदयाममा विद्युत् आपूर्ति सुनिश्चित गर्न मध्यभोटेकोशी आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइनको निर्माण अत्यावश्यक भएकाले तीव्र गतिमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।
बाह्रबिसे नगरपालिका–५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ।
तामाकोशी र सुनकोशी नदी तथा तिनीहरूको सहायक खोलाहरूमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह सुनिश्चित गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो। बाह्रबिसे–लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ। साथै, बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।