सांसद चन्दा कार्की : ‘जनताको आक्रोश बेवास्ता गर्दा सरकारले चर्को मूल्य चुकाउनुपर्छ’
सांसद चन्दा कार्की : ‘जनताको आक्रोश बेवास्ता गर्दा सरकारले चर्को मूल्य चुकाउनुपर्छ’
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत सुनेर आत्मालोचना गर्न सरकारलाई सुझाव दिएकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनताको आक्रोशलाई बेवास्ता गरे सरकारले अझै चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिइन्।

देशमा भ्रष्टाचार, कानुनी विभेद, अन्याय, महँगी, बेरोजगारीलगायतका समस्या बढ्दै गएको उल्लेख गर्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

‘देशमा भ्रष्टाचारले जरा गाडेको छ। राजनीतिक आडमा कानुनी विभेद बढेको छ। न्याय खोज्नेले अन्याय सहनुपरेको छ। जनता महँगी र बेरोजगारीको मारमा छन्। काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ। तर, सरकार कहाँ छ?’ उनले प्रश्न गरिन्।

सांसद कार्कीले जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त रहेको आरोप लगाइन्।

‘जनताको पीडा सुन्नुको सट्टा सरकार आफ्ना सुविधा बढाउने खेलमा मस्त छ। नयाँ नेतृत्वलाई सिध्याउने र होच्याउने खेलमा जुटेको छ। देशलाई उज्यालो पार्ने कर्मचारीमाथि खनिएको छ,’ उनले भनिन्, ‘राजाको आह्वानमा जनता सडकमा ओर्लिने भनेर गालीगलौजमा व्यस्त छ।’

उनले नेपाली जनता कुनै राजा फर्काउन नभई नेताहरूको अकर्मण्यता र भ्रष्टाचारबाट निराश भएर सडकमा निस्किएको बताइन्।

‘नेपाली जनता कुनै राजा फर्काउने होइनन्। नेताहरूको अकर्मण्यता र भ्रष्टाचारबाट निराश र दिक्क भएर सडकमा निस्केका हुन्,’ कार्कीले भनिन्।

गायक भूपू पाण्डेको ‘जीन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ’ बोलको गीत उल्लेख गर्दै उनले सरकारले आत्मालोचना गर्नुपर्ने आवश्यकता औंल्याइन्।

‘श्री भूपू पाण्डेको गीतले जनताको पीर मर्का हुबहु बयान गर्छ। सरकारले कमसेकम यो गीत सुनेर आत्मालोचना गर्दै सच्चियोस्,’ उनले भनिन्, ‘जनताको यो आक्रोशलाई अझै बेवास्ता गरियो भने यसको मूल्य सरकारले नै चुकाउनुपर्नेछ।’

 

साताकाे चर्चित
सम्बन्धित