विद्यार्थीहरू आक्रोशित : जानकारी नदिई मध्य परीक्षा स्थगित
विद्यार्थीहरू आक्रोशित : जानकारी नदिई मध्य परीक्षा स्थगित
    • बेल संचार

    • २ चैत्र २०८१, आईतवार

सुर्खेत ।

मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्दै गर्दा परीक्षा एक्कासी स्थगित भएको छ। आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगित गरिएको हो।

‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’ अन्तर्गत स्नातक तह प्रथम र सातौं सेमेस्टरको परीक्षा एक्कासी स्थगित गरिएको हो।

एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ। सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगित गरिएको हो।

आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए। प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि परीक्षा स्थगित भएको सूचना आएको एक विद्यार्थीले जानकारी दिए।

आफूहरूलाई पूर्वजानकारी बिना परीक्षा स्थगित गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको उनले बताए। ‘बिहान परीक्षा सुरु भएको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगित भएको सूचना आयो,’ उनले भने, ‘पछि कारण बुझ्दा स्ववियुको निर्वाचनलाई देखाउँदै परीक्षा स्थगित गरिएको रहेछ।’

मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’ अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

‘स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौं सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

 

साताकाे चर्चित
सम्बन्धित