जुम्लामा २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण
जुम्लामा २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण
    • बेल संचार

    • ३ चैत्र २०८१, सोमबार

जुम्ला ।

कर्णाली प्रदेश सरकारले जिल्लाका २३० भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरेको छ। आठवटै स्थानीय तहका ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहनस्वरूप भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। मन्त्रालयको कार्यविधि अनुसार फर्म दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रसहित वडाको सिफारिस तथा कार्यालयको अनुगमनका आधारमा प्रत्येक किसानलाई १८ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको हो।

जिल्लामा भेडा पाल्ने किसानको संख्या करिब १,७०० भन्दा बढी रहेको छ भने आठवटा स्थानीय तहमा गरी ८८,३०० भन्दा धेरै भेडा पालिएका छन्। किसानहरूले प्राप्त गरेको प्रोत्साहन भत्ता भेडापालन व्यवसायलाई अझ सशक्त बनाउन मद्दत पुगेको बताएका छन्।

“आर्थिक अभावले व्यवसाय प्रभावित भएको थियो। सरकारले भेडापालक किसानलाई आर्थिक सहयोग उपलब्ध गराएपछि थप व्यवसाय विस्तार गर्न सहज भएको छ,” सिँजा गाउँपालिका–६ का ५० भेडा पाल्ने किसान सुवा रावतले बताए।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी भेडापालन गर्ने किसान तातोपानी गाउँपालिकामा छन्।

 

साताकाे चर्चित
सम्बन्धित