स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सहकार्य सम्झौता
स्वास्थ्य मन्त्रालय र तिलगंगाबीच सहकार्य सम्झौता
    • बेल संचार

    • ३ चैत्र २०८१, सोमबार

काठमाडौं ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा केन्द्रसँग सहकार्य सम्झौता गरेको छ। नेपाली नागरिकको आँखा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यसहित आइतबार सम्झौता भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगा आँखा केन्द्रका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।

सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता विस्तारमा सघाउनेछ भने तिलगंगाले उत्पादन हुने कुल लेन्सको १० प्रतिशत निःशुल्क उपलब्ध गराउनेछ। उत्पादन संख्याको आधारमा यदि एक लाख लेन्स उत्पादन भए, त्यसमा १० हजार लेन्स निःशुल्क प्रदान गरिनेछ।

हाल तिलगंगाले उत्पादित लेन्स विभिन्न देशमा निर्यात गरिरहेको छ। सरकारले भन्सार तथा मूल्य अभिवृद्धि कर छुटको व्यवस्था गरेपछि ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा थप छुट प्रदान गरिनेछ।

तिलगंगाले आँखा स्वास्थ्य सेवा विस्तार गर्दै ग्रामीण क्षेत्रमा अन्धोपन निवारणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने र सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ। मन्त्रालयले तिलगंगाको परियोजना कार्यान्वयनमा समन्वय गर्ने र मातहतका निकायमार्फत सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।

प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर आँखा स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने कुरामा पनि सम्झौतामा सहमति जनाइएको छ। साथै, मोतियाबिन्दु शल्यक्रियाका लागि आवश्यक लेन्स उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुटको व्यवस्था गर्न मन्त्रालयले सिफारिस गर्नेछ।

सम्झौतापछि आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले डा. सन्दुक रुइतको नेतृत्वमा नेपालले आँखा उपचारमा विश्वसनीयता आर्जन गरेको बताउँदै यो गौरवको विषय भएको उल्लेख गरे। उनले नेपाललाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै तिलगंगाको कामलाई थप सघाइने प्रतिवद्धता जनाए।

डा. रुइतले स्वास्थ्य सेवा सुधारका लागि मन्त्रालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न सरकारको सहयोग आवश्यक रहेको बताए। “स्वास्थ्य मन्त्रीज्यू सुधारका लागि सक्रिय हुनुहुन्छ। हामी हातेमालो गरेर अघि बढ्न तयार छौं,” उनले भने।

साताकाे चर्चित
सम्बन्धित