धनकुटा ।
गत साउनदेखि सञ्चालनमा आएको स्काई वाक टावरले भेडेटारका होटल व्यवसायीहरूलाई राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण सुस्ताएको होटल व्यवसाय टावर सञ्चालनपछि सुधारोन्मुख देखिएको व्यवसायीहरूको भनाइ छ।
होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार नभए पनि टावर बनेपछि कोरोनाकालको तुलनामा सुधार भएको छ।” १८ वर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको पर्यटन क्रमशः पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे।
त्यस्तै, होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि स्काई वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायमा सुधार आएको बताए। “यदि भेडेटारका पर्यटकीय स्थलहरूको प्रभावकारी प्रचार-प्रसार गर्न सकियो भने यहाँको व्यापार फेरि फस्टाउनेछ,” उनले उल्लेख गरे।
होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार, स्काई वाक सञ्चालन भएपछि व्यवसायमा केही सुधार भए पनि प्रवेश शुल्क महँगो भएकाले अपेक्षाअनुसार पर्यटकहरू आकर्षित नभएको गुनासो सुनिएको छ।
हाल भेडेटारमा पर्यटक लक्षित गरी १०० भन्दा बढी सुविधा सम्पन्न होटलहरू र २०० भन्दा बढी साना होटलहरू सञ्चालनमा छन्। स्काई वाक निर्माणसँगै भेडेटारको पर्यटन तथा व्यापार प्रवर्द्धनमा ठूलो योगदान पुगेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।
कोशी प्रदेश लगानी बोर्ड र वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्रयाक्सन्स प्रालिको २० करोड लगानीमा निर्माण गरिएको स्काई वाक टावर गत साउन १ गतेदेखि सञ्चालनमा आएको थियो।
सञ्चालक कम्पनीका प्रबन्ध निर्देशक सन्जिव रोकायाका अनुसार, फागुनसम्म टावर अवलोकन गर्ने पर्यटकहरूको संख्या १ लाख ५० हजार नाघिसकेको छ। सोही अवधिमा स्काई वाक टावरबाट ५ करोडभन्दा बढीको कारोबार भएको उनले जानकारी दिए।