बाँके ।
प्रहरीले फागुन महिनामा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको हो।
प्रहरी नायब उपरीक्षक (प्रनाउ) दीपक पातलीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १५ वर्ष २ महिना १८ दिन कैद र रु ४ लाख ३५ हजार ५५ जरिवाना असुलउपर गरिएको छ।
यसैगरी, प्रहरीले नेपालगन्जबाट रु १४ लाख ७१ हजार ८७५ बराबरको अवैध भन्सार छलीको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ। साथै, अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चारवटा टिपर र दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएर सम्बन्धित निकायमा पठाई ४८ हजार जरिवाना गरिएको छ।
अवैध बोइलर कुखुरा विरुद्धको कारबाहीमा प्रहरीले भारतबाट ल्याइएका रु ३ लाख ७६ हजार ८१० मूल्य बराबरको कुखुरा र मासु बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएर नष्ट गरिएको प्रनाउ पातलीले जानकारी दिए।
फागुन महिनामा बाँकेमा दर्ता भएका १३१ वटा मुद्दामध्ये १०२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ भने ६५ वटा पेन्डिङ मुद्दा फछ्र्योट भएका छन्।
ट्राफिक कारबाही अन्तर्गत फागुनमा ३६१४ सवारीसाधनलाई कारबाही गर्दै प्रहरीले रु २९ लाख ११ हजार ५०० राजस्व सङ्कलन गरेको छ।
लागुऔषधविरुद्धको अभियानमा प्रहरीले १ किलो १०६ ग्राम ४१६ मिलीग्राम ब्राउन सुगर, ५००० ट्याब्लेट ट्रामाडोल, ४ किलो २०० ग्राम चरेससहित २२ जना ओसारपसारकर्तालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।
प्रहरीले फागुनमा सीमावर्ती नाकाबाट ८१ महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार गर्नुका साथै अलपत्र अवस्थामा परेका १५ जनालाई फेला पारेर संरक्षणका लागि संस्थामा पठाएको जनाएको छ।