काभ्रेपलाञ्चोक ।
जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ। उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ।
बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालका अनुसार आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको छ। साथै, थलीडाँडा र हर्कभञ्याङमा निर्माणाधीन खानेपानी आयोजना जोखिममा रहेको छ। उनका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्तीसमेत जोखिममा पर्न सक्छ।
रातको समयमा डढेलो देखिएकाले तत्काल नियन्त्रण सम्भव नभएकाले आज बिहानैदेखि प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रण प्रयास जारी रहेको वडाध्यक्ष ढकालले बताए।
यसअघि, गत माघ पहिलो साता सोही क्षेत्र महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडाको महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो।