काठमाडौं ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा विद्यार्थीहरू आफ्नो केन्द्रमा उपस्थिति जनाउँदै परीक्षा दिइरहेका छन्।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ भने संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा समेत भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा-१०) का अनुसार यस वर्ष एसईई परीक्षामा ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन्। गत वर्ष २०८० को परीक्षामा ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए, जसअनुसार यस वर्ष परीक्षार्थीको संख्या ४९ हजार २८६ ले वृद्धि भएको छ।
परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ। प्रत्येक केन्द्रमा १५० जनासम्म परीक्षार्थी रहेमा एक जना सहायक केन्द्राध्यक्ष खटाइनेछ भने २० जना परीक्षार्थी बराबर एक जना निरीक्षकको व्यवस्था गरिएको छ। ७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्ष नराख्ने व्यवस्था गरिएको छ।
एसईई परीक्षा चैत १ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ।
यस वर्ष पनि जापानबाट विद्यार्थीहरूले एसईई परीक्षा दिएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जापानबाट ३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।