मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी
मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी
    • बेल संचार

    • ७ चैत्र २०८१, बिहीबार

मकवानपुर ।

देशभर माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएसँगै मकवानपुर जिल्लामा ७ हजार ४५६ विद्यार्थीले परीक्षा दिइरहेका छन्। शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका सामुदायिक र संस्थागत गरी १३९ विद्यालयका विद्यार्थीहरू एसईईमा सहभागी भएका हुन्।

ग्रेड वृद्धि परीक्षा अन्तर्गत साधारण धारतर्फ १ हजार ४९५ जना र प्राविधिक धारतर्फ ९६ जना परीक्षार्थी परीक्षा दिइरहेका छन्। यसैबीच, भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि एसईई परीक्षा दिएका छन्। विभिन्न मुद्दामा सजाय काटिरहेका ३ जना बन्दी र ३ जना कैदीले परीक्षा दिइरहेका हुन्।

कारागारका जेलर तिर्थराज पौडेलका अनुसार सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी, तथा लागूऔषध मुद्दामा संलग्न ६ जना कैदीबन्दीले हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट फारम भरेका थिए। उनीहरूको परीक्षा कारागारभित्रै सञ्चालन गरिएको छ।

यस वर्ष मकवानपुरमा २ वटा परीक्षा केन्द्र थप गर्दै २८ परीक्षा केन्द्र तोकिएको छ। कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौँडाको श्रमिक माविमा नयाँ परीक्षा केन्द्र थपिएको प्रमुख गिरीले जानकारी दिएका छन्।

जिल्लाभर परीक्षा सञ्चालनका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ जना निरीक्षक, ७६ जना परीक्षा सहायक, १५० जना कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित