बिपी राजमार्ग पुनर्निर्माण प्रक्रिया अघि बढ्यो, सगरमाथा आरोहणको तयारी तीव्र
बिपी राजमार्ग पुनर्निर्माण प्रक्रिया अघि बढ्यो, सगरमाथा आरोहणको तयारी तीव्र
    • बेल संचार

    • ६ चैत्र २०८१, बिहीबार

काठमाडौँ ।

गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले दुई सडकखण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिसकेका छन्।

बाढीले काभ्रेपलाञ्चोकको रोशी खोलाबाट नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये ८.५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। उक्त सडक पुनर्निर्माण गर्न चार प्याकेजमा विभाजन गरिएको छ।

सिन्धुली खण्डमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडक पुनर्निर्माणका लागि रु. ७२ करोडको ठेक्का आह्वान गरिएको छ, जसका लागि इच्छुक निर्माण कम्पनीहरूले रु. १.८२ करोड सुरक्षा राख्नुपर्नेछ। काभ्रेपलाञ्चोकतर्फको ८ किमी सडक (डालाबेंसीदेखि चारसयाबेंसीसम्म) पुनर्निर्माण गर्न रु. २.५० अर्ब बजेट छुट्याइएको छ।

सरकारले बिपी राजमार्ग पुनर्निर्माणका लागि रु. ८.५० अर्ब बजेट स्रोत सहमति दिइसकेको छ। हाल अस्थायी रूपमा मर्मत कार्य भइरहेको छ भने स्थायी पुनर्निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका लागि चुचुरोसम्म डोरी टाँग्ने (‘रोप फिक्सिङ’) कार्यको जिम्मा आठ सदस्यीय टोलीलाई दिइएको छ। अशोक लामा नेतृत्वको टोलीले सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा आरोहण मार्ग निर्माण गर्नेछ।

यो कार्यको व्यवस्थापन एट्के एक्सपिडिसन कम्पनीले गरिरहेको छ। कम्पनीले सगरमाथा आरोहणलाई सुरक्षित बनाउन आवश्यक ‘क्लाइम्बिङ इक्युमेन्ट’ र ‘टेक्निकल डिभाइस’ समेत आरोही टोलीलाई हस्तान्तरण गरेको छ।

सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन १० जना ‘आइसफल डाक्टर’ खटाइएका छन्। खुम्बु आइसफल क्षेत्र हिमपहिरोको जोखिमयुक्त क्षेत्र भएकाले डोरी टाँग्ने, भर्याङ राख्ने तथा बरफको अस्थिर संरचना स्थिर बनाउने कार्य गरिँदैछ।

सन् २०२५ का लागि आरोहण मार्ग निर्माणको जिम्मा एट्के एक्सपिडिसन कम्पनीलाई दिइएको छ। सन् २०२४ मा सेभेन समिट ट्रेक्सले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाएको थियो भने सन् २०२३ मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले ‘रोप फिक्सिङ’ गरेको थियो।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा ६०० भन्दा बढी आरोही सगरमाथा आरोहणमा जाने अपेक्षा गरिएको छ। आरोहणका लागि अनुमति लिने आरोहीहरूको चहलपहल तीव्र बनेको छ भने आरोहण व्यवस्थापन कम्पनीहरू तयारीमा जुटेका छन्।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार यो सिजनमा हालसम्मकै धेरै आरोही सगरमाथा आरोहणमा जाने अनुमान गरिएको छ। विभिन्न एक्सपिडिसन कम्पनीहरूले आरोहण व्यवस्थापनलाई व्यवस्थित बनाउन तयारी तीव्र बनाएका छन्।

वसन्त ऋतु आरोहणका लागि उपयुक्त समय भएकाले आरोहीहरू सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरिरहेका छन्। सगरमाथा आरोहणको ‘वेष्ट समिट विन्डो’ सामान्यतया मे महिनामा हुने भएकाले सोही अनुसार तयारी भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित