काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा माओवादी निकट अखिल (क्रान्तिकारी)ले हासिल गरेको सफलताप्रति उत्साह व्यक्त गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै उनले नतिजा उत्साहप्रद रहेको बताएका हुन्।
उनका अनुसार कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिविरुद्धको अभियानमा सचेत युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि भएको छ।
प्रचण्डले फेसबुकमा लेखेका छन्, “भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टीनिकट अखिल (क्रान्तिकारी)को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिविरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”
स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले राम्रो प्रदर्शन गरेपछि माओवादी नेताहरू र कार्यकर्ताहरूमा उत्साह बढेको देखिन्छ। विभिन्न क्याम्पसमा गठबन्धनको उम्मेदवारलाई पछि पार्दै अखिल (क्रान्तिकारी)ले सफलता हासिल गरेको छ।