काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै, उनले पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद विमला सुवेदीले शान्ति प्रक्रिया र आयोग गठनबारे उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासबारे जानकारी गराएका हुन्।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफलका लागि पहल भइरहेको उल्लेख गरे। तर, पछिल्लो समय प्रतिपक्षी दलका नेता प्रचण्ड अस्वस्थ रहेकाले छलफल हुन नसकेको जानकारी दिए।
‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेतासँग सम्पर्क गर्न खोज्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क हुन नसकेको भन्ने जवाफ पाएको छु। सम्पर्क हुने बित्तिकै काम अघि बढाइनेछ।’