दिक्तेल रुपाकोट मझुवागढीमा दुर्लभ रेडपाण्डा फेला, संरक्षण अभियान तीव्र
दिक्तेल रुपाकोट मझुवागढीमा दुर्लभ रेडपाण्डा फेला, संरक्षण अभियान तीव्र
    • बेल संचार

    • ६ चैत्र २०८१, बिहीबार

खोटाङ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ मानिएको रेडपाण्डा फेला परेको छ। मेरुङ सामुदायिक वनमा रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्ने उद्देश्यले गएको नगरपालिकाको टोलीले चौँथो दिनमा रेडपाण्डा देखेको हो।

नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सव लाई लक्षित गरी चैत १ गतेदेखि वन अध्ययन थालेको थियो। रेडपाण्डा अध्ययन तथा खोजीका लागि दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेको थियो।

वडाध्यक्ष राईका अनुसार, रेडपाण्डालाई २,७८१ मिटर उचाइमा रुखमा सुतिरहेको अवस्थामा फेला पारिएको हो। भेटिएको रेडपाण्डा करिब २ वर्ष ६ महिना उमेरको भाले रहेको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए। वन क्षेत्रमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने अनुमान गरिएको छ।

रेडपाण्डा अनुसन्धानमा संलग्न पुष्पलाल गिरीका अनुसार, रेडपाण्डालाई आकार र तौलका आधारमा पाँच प्रकार मा विभाजन गरिन्छ। मेरुङ सामुदायिक वन क्षेत्रमा ती सबै प्रकारका रेडपाण्डा भेटिन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

रेडपाण्डा विशेष गरी मालिङ्गो बाँसको टुसा खान मन पराउने भएकाले मालिङ्गो भएको क्षेत्रमा बढी पाइने स्थानीयले बताएका छन्। केपिलासगढी गाउँपालिका, फेदी क्षेत्र र माथिल्लो भेगका सामुदायिक वनहरूमा समेत रेडपाण्डा पाइने पुष्टि भएको छ।

जिल्लामा सामुदायिक वन समूह र विभिन्न परियोजनाको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन गरिएको छ। फेदीवासी स्थानीयहरूले वन क्षेत्रमा संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने, फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने जस्ता अभियान सञ्चालन गर्दै आएका छन्।

नगरपालिकाले गर्न लागेको रेडपाण्डा तथा थार महोत्सव ले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा संघसंस्थाले विभिन्न महोत्सव आयोजना गर्ने योजनाअन्तर्गत नगरपालिकाले यो महोत्सव आयोजना गर्न लागेको हो।

  • केपिलासगढी गाउँपालिका: हनी हन्टिङ तथा गोठस्टे महोत्सव
  • साकेला गाउँपालिका: उँधैली–उँभौली साकेला तथा सांस्कृतिक महोत्सव
  • भोजपुर नगरपालिका: अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ
  • साल्पा सिलिछो गाउँपालिका: नाछोङ धामी साहित्यिक महोत्सव
  • षडानन्द नगरपालिका: रुद्राक्ष महोत्सव
  • महाकुलुङ गाउँपालिका: चाकचाकुर महोत्सव

यस महोत्सवहरूबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित