काठमाडौं ।
प्रतिनिधिसभा सदस्य बनेको करिब दुई वर्ष पुगेका सांसद लालवीर चौधरी थारु समुदायको हक, अधिकार तथा समग्र विकासका लागि निरन्तर आवाज उठाइरहेका छन्। ‘नागरिक उन्मुक्ति पार्टी’का केन्द्रीय सदस्य एवं प्रमुख सचेतक रहेका चौधरी बर्दिया क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।
सांसद चौधरीले पटकपटक संसद्मा थारु समुदायको अधिकारका लागि कानुनी र संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। उनका अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र अन्य सरकारी निकायमा थारु समुदायको प्रतिनिधित्व न्यून छ।
वि.सं. २०७८ को जनगणनाअनुसार थारु समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ रहेको छ। चौधरीको भनाइमा, राज्यका हरेक संरचनामा थारु समुदायको सहभागिता जनसंख्याको आधारमा सुनिश्चित हुनुपर्छ। निजामती सेवा, नेपाल प्रहरी, नेपाली सेना तथा अन्य सरकारी संस्थानहरूमा थारु समुदायलाई आरक्षणको व्यवस्था गर्नुपर्ने उनको माग छ।
सांसद चौधरीका अनुसार ‘मधेस प्रदेश’ जस्तै ‘थरुहट प्रदेश’ गठन गर्नुपर्ने माग नागरिक उन्मुक्ति पार्टीको प्रमुख एजेन्डा हो। साथै, थारु बाहुल्य रहेका गाउँपालिका तथा नगरपालिकामा सरकारी कामकाजका लागि थारु भाषालाई मान्यता दिनुपर्ने उनको माग छ।
नेपालमा तराई क्षेत्रमा सबैभन्दा बढी जनसंख्या रहेकाले सरकारले त्यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने चौधरी बताउँछन्।
उनको भनाइमा, स्थानीय तहलाई पर्याप्त अधिकार नदिएसम्म संघीयता प्रभावकारी हुन सक्दैन। स्थानीय तहलाई बजेटको सही सदुपयोग गर्न सक्ने बनाउनु जरुरी रहेको उनको तर्क छ।
देशमा बढ्दो युवा बेरोजगारी समाधानका लागि सरकारले उद्योग, कलकारखाना खोल्नुपर्ने चौधरीको सुझाव छ। उनका अनुसार, सरकारले ऋण लिएर भए पनि रोजगारी सिर्जना गर्नुपर्ने छ।
सरकारले दिने कृषि अनुदान वास्तविक किसानले पाउन नसकेको चौधरी बताउँछन्। उनका अनुसार, अनुदान सरकारमा पहुँच भएका व्यक्तिहरू र नेताका नातेदारले मात्रै पाइरहेका छन्।
उनले भ्रष्टाचारलाई मुलुकको प्रमुख समस्या भन्दै सरकारी तथा निजी क्षेत्र दुवैमा अनियमितता मौलाएको आरोप लगाएका छन्। उनका अनुसार, सरकारी कागजात बनाउन महिनौँ लाग्नु आफैँमा भ्रष्टाचारको संकेत हो। सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न सबैलाई कडा कानुनी कारबाही गर्नुपर्ने उनको धारणा छ।
बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको आक्रमण ठूलो समस्या बनेको छ। चौधरीका अनुसार, हात्ती, बाघ र भालुको आक्रमणले स्थानीयवासी त्रसित छन्।
हालै मात्र ७५ वर्षीय वृद्धलाई हात्तीले आक्रमण गरी ज्यान लिएको उल्लेख गर्दै उनले यो समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्। उनका अनुसार, धनीहरूको घर जंगलको छेउमा हुँदैन, तर गरिबहरू जङ्गली जनावरको आक्रमणको शिकार भइरहेका छन्।
उनको भनाइमा, “देशको विकास समान रूपमा हुनुपर्छ। शीर्ष नेताहरूले आफ्नो क्षेत्रका लागि मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि काम गर्नुपर्छ।” चौधरीले अबको आफ्नो प्राथमिकता थारु समुदायको हक सुनिश्चित गर्नु, युवा रोजगारी सिर्जना गर्नु, सुशासन प्रवर्द्धन गर्नु र जङ्गली जनावरको आतंक हटाउनु रहेको स्पष्ट पारेका छन्।