कैलाली ।
वर्षायाममा कान्द्रा नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गरेपछि रु पाँच करोडको लागतमा निर्माण थालिएको तटबन्धको काम अन्तिम चरणमा पुगेको छ।
जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार नदी किनारका विभिन्न खण्डमा ८३० मिटर तटबन्ध र पाँच वटा स्पर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
भजनी नगरपालिका–९ काँडामा २१६ मिटर, वडा नं ४ धनौरामा २१६ मिटर तथा सोही वडामा थप २१६ मिटर तटबन्ध निर्माणको कार्य अन्तिम चरणमा रहेको कार्यालयका सूचना अधिकारी टेकराज विनाडीले जानकारी दिए।
यसैगरी, गौरीगङ्गा नगरपालिका–९ मा १२२ मिटर, घोडाघोडी नगरपालिका–११ को सिसैयामा ६० मिटर तटबन्ध निर्माण कार्य पूरा भइसकेको छ। सोही वडाको वडा नं ११ मा तीनवटा र वडा नं १२ मा दुईवटा गरी कुल पाँच वटा स्पर निर्माण सम्पन्न भएको छ।
तटबन्ध निर्माणपछि नदी कटानको जोखिम कम हुनुका साथै उर्बर भूमिको संरक्षण हुनेछ। साथै, नदी किनाराका बस्तीहरु सुरक्षित हुने स्थानीयवासीले आशा गरेका छन्।