नागरिक एपमार्फत् सहज सेवा प्रवाह गर्न सचिव बैठकको निर्णय
नागरिक एपमार्फत् सहज सेवा प्रवाह गर्न सचिव बैठकको निर्णय
    • बेल संचार

    • ८ चैत्र २०८१, शुक्रबार

काठमाडौँ ।

सचिव बैठकले आधुनिक प्रविधिको उपयोग गरी नागरिक एपमार्फत् सहज सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले डिजिटल माध्यमबाट नागरिकमैत्री र सरल रूपमा सेवा प्रवाह गर्ने निर्णय गरेको हो।

यसका लागि सेवा प्रवाहसम्बन्धी विद्यमान विद्युतीय प्रणालीहरूबीच अन्तर आवद्धता गर्ने तथा नागरिक एपमार्फत् सेवा प्रवाह गर्न सबै विभागले ‘डिजिटल सर्भिस ट्रान्सफरमेसन’ योजना बनाई शीघ्र कार्यान्वयनमा लैजाने भएका छन्।

सेवासँग सम्बन्धित विभागहरूले आपसी समन्वय गरी सेवाग्राहीले उपस्थित हुनुपर्ने सम्पर्क बिन्दुहरूको संख्या घटाउने निर्णय गरिएको छ। साथै, गत असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम राष्ट्रिय परिचयपत्रसँग सेवा आवद्धतालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्य अघि बढाइनेछ।

सचिव बैठकले विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट भएका असल अभ्यासहरू नियमित रूपमा आदानप्रदान गर्ने र यस्ता कार्यको प्रचार-प्रसार सामाजिक सञ्जालमार्फत् गर्ने निर्णय गरेको छ।

बैठकले गरेका निर्णयहरू कार्यान्वयन प्रगति आगामी बैठकमा पेश गरी समीक्षा गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित