काठमाडौं ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ।
शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहे पनि अझै नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरूले बताएका छन्।
डढेलो नियन्त्रणका लागि प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाइलाबाट खटिएको टोली तथा सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा परिचालन गरिएको छ।
छ ठाउँबाट सुरु भएको डढेलोमध्ये चार ठाउँमा नियन्त्रणमा लिइए पनि बाँकी दुई स्थानमा निभाउन कठिनाइ भइरहेको इन्स्पेक्टर आचार्यले जानकारी दिए।
स्विट्जरल्याण्ड पार्कबाट तल्लो भेगमा फैलिएको आगो नियन्त्रण गर्न सिर्जनाचोकबाट पानीको फोहोरा हान्ने प्रयास भइरहेको छ। डढेलोका कारण वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु र वनस्पतिहरू जोखिममा परेका छन्।
हावाको तीव्र गतिका कारण आगो झन् फैलिएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन्।