काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार भ्रष्टाचारी जोगाउनका लागि बनेको आरोप लगाएका छन्।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राम्रो काम गर्न असफल रहेको टिप्पणी गरे।
प्रचण्डका अनुसार, “ओली सरकारको मुख्य काम भ्रष्टाचारीलाई जोगाउने, राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, र अनियमितता बढाउने मात्र देखिएको छ।
यसको स्पष्ट उदाहरण कुलमान घिसिङ प्रकरणबाट बुझ्न सकिन्छ।”
उनले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल माओवादीले पाउनुपर्ने भए पनि सरकारले त्यो सुनिश्चित नगरेको बताए। “लेखा समितिको सभापतिलाई ठूला-ठूला आरोप लागेका छन्।
प्रधानमन्त्रीले तिनलाई जोगाउन सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन्,” प्रचण्डले भने।
प्रचण्डले आफू २०८४ सालसम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्दै जनतासँग निरन्तर सम्पर्कमा रहने बताए। साथै, सरकारमा हुँदा र प्रतिपक्षमा हुँदा फरक नीति नअपनाउने उल्लेख गर्दै, आफ्नो दलले सधैं भ्रष्टाचारविरुद्ध लड्दै आएको दाबी गरे। “हामी सरकारमा हुँदा आर्थिक विकास र सुशासनका लागि प्रतिबद्ध थियौं,” उनले जोड दिए।