हिमनदी संरक्षण आवश्यक, जलवायु परिवर्तनका असरबाट हिमाली समुदायलाई जोगाउन विज्ञहरूको सुझाव
हिमनदी संरक्षण आवश्यक, जलवायु परिवर्तनका असरबाट हिमाली समुदायलाई जोगाउन विज्ञहरूको सुझाव
    • बेल संचार

    • ७ चैत्र २०८१, शुक्रबार

काठमाडौँ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल असरबाट जोगाउन हिमनदीको संरक्षण अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। विश्व पानी दिवसको अवसरमा बिहीबार स्मार्ट बास सोलुसन्सले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले हिमनदी संरक्षणको आवश्यकता औंल्याएका हुन्।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का वरिष्ठ सल्लाहकार डा. अरुणभक्त श्रेष्ठका अनुसार पृथ्वीको तापक्रम १.५ देखि २ डिग्री सेल्सियस मात्र बढ्दा पनि हिन्दकुश हिमालय क्षेत्रको हिउँ २५ देखि ३० प्रतिशत पग्लनेछ। यदि तापक्रम ३ देखि ४ डिग्री सेल्सियसले बढेमा ५५ देखि ७५ प्रतिशत हिउँ नाश हुने खतरा छ। सुरुमा नदीहरूमा पानीको प्रवाह बढे पनि दीर्घकालीन रूपमा पानीको मात्रा घट्दै जाने जोखिम उनले औंल्याए।

जलवायुविज्ञ श्रेष्ठले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न विकसित तथा विकासोन्मुख मुलुकहरूलाई कार्बन उत्सर्जन घटाउन बाध्य पार्नुपर्ने, सम्भावित स्थानमा जलाशय निर्माण गर्नुपर्ने र प्रकृतिमा आधारित समाधान अपनाउनुपर्ने बताए।

कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. भोला घिमिरेले नेपालका हिमनदी विश्वको ताजा पानीको स्रोत भएको र जलवायु परिवर्तनका कारण त्यसमा संकट देखिएको बताए। उनले जलवायु परिवर्तनका कारण मौसम चक्र नै परिवर्तन भइरहेको उल्लेख गर्दै असामान्य समयमा बाढी पहिरो आउने समस्या देखिएको बताए।

पूर्वमन्त्री गणेश साहले पानीको व्यवस्थापन आजको युगमा अति महत्वपूर्ण रहेको बताउँदै नेपालमा सङ्घीय प्रणालीले पानीका स्रोतहरूसँग सम्बन्धित विवाद निम्त्याउन सक्ने चेतावनी दिए।

जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा. कपिल ज्ञवालीले हिमाली क्षेत्रको तापक्रम वृद्धि अन्य भूभागको तुलनामा तीव्र रहेको उल्लेख गर्दै यस शताब्दीको अन्त्यसम्ममा हिमालयका ८० प्रतिशत हिउँ पग्लने सम्भावना रहेको बताए। यसलाई मध्यनजर गर्दै कार्बन उत्सर्जन घटाउने उपायहरू अवलम्बन गर्नुपर्ने उनको सुझाव थियो।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले हिमनदी पग्लनुका असरबारे बोल्दै हिमताल विष्फोटनको जोखिम बढेको, नदी आसपासका पूर्वाधार ध्वस्त भएका र स्थानीय समुदायको धनजनको क्षति भएको बताए।

से–फोक्सुण्डो गाउँपालिकाका पेमा वाग्चेन गुरुङले हिमाली भेगमा हिमनदी पग्लँदै गएर काला डाँडामा परिणत भइरहेको बताउँदै यसले स्थानीय जनजीवन कष्टकर बनेको उल्लेख गरे। हिमाली क्षेत्रमा कृषि तथा पशुपालनमा समेत असर परिरहेको उनले बताए।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिमनदी संरक्षणले नेपालको नदी प्रणालीमा आधारित जनजीवन र जीविकोपार्जनलाई सहयोग पुग्ने बताइन्। साथै, जलवायु परिवर्तनका मुद्दाहरू विश्व समुदायमा उठान गर्न सगरमाथा संवादको तयारी भइरहेको जानकारी दिइन्।

उनका अनुसार सो संवादमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूलाई आमन्त्रण गरिएको छ भने करिब ४०० प्रतिनिधिहरूको सहभागिता रहनेछ।

साताकाे चर्चित
सम्बन्धित