रवि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता
रवि लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता
    • बेल संचार

    • ७ चैत्र २०८१, शुक्रबार

काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले माघ ३ गते रु ६० लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएका थिए। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित लामिछानेले दफा ७३ अनुसार उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।

पुनरावेदन निवेदन दर्ता गराउने जानकारी पाएपछि रास्वपा कार्यकर्ताहरू अदालत बाहिर जम्मा भएका थिए। सो क्रममा लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने दाबी गर्दै आफू बोलेपछि धेरैको बोली बन्द हुने बताएका छन्।

चितवनको सहारा सहकारीसम्बन्धी मुद्दामा जिल्ला अदालतले माघ २४ गते रु ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध पनि लामिछानेले उच्च अदालतमा निवेदन दिन बाँकी रहेको छ। यसअघि, उनले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गराइसकेका छन्।

यसैबीच, पर्साको सानो पाइला सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धान लामिछानेविरुद्ध भइरहेको भए पनि हालसम्म मुद्दा दर्ता गरिएको छैन।

साताकाे चर्चित
सम्बन्धित