पालिका अध्यक्ष पक्राउपछि समर्थकहरूको विरोध, प्रहरीमाथि ढुंगामुढा
पालिका अध्यक्ष पक्राउपछि समर्थकहरूको विरोध, प्रहरीमाथि ढुंगामुढा
    • बेल संचार

    • ८ चैत्र २०८१, शनिबार

जनकपुरधाम ।

सिरहा जिल्लाको औरही गाउँपालिका-५ निवासी दीपक मरिक डोमको परिवार विस्थापित भएको छ। गाउँपालिका अध्यक्षका आफन्त तथा समर्थकहरूले गालीगलोज र धम्की दिएपछि उनीहरू रातिदेखि आफ्नो घर छोड्न बाध्य भएका हुन्।

गत फागुन १० गते विष्णु महायज्ञ को नाममा दीपक मरिक डोमको घर डोजर लगाएर भत्काइएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादव लाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो।

तर, अध्यक्ष पक्राउ परेपछि उनका छोरा रुकेश यादवसहित केही स्थानीयहरू राति दीपकको घरमा पुगेका थिए र धम्की दिँदै गालीगलोज गरेका थिए। त्रासको कारण दीपक मरिक डोम र उनकी श्रीमती अनिता वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिन पुगे। उनका छोराछोरीहरू राति औरही प्रहरी चौकीमा बसेका थिए।

दीपकले भने, “साँझ पालिका अध्यक्ष पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरू लिएर आएर धम्की र गालीगलोज गरे। मेरी श्रीमती अनितालाई हिंड्न दबाब दिए। असुरक्षित महसुस भएपछि हामी शरण लिन बाध्य भयौँ। मेरा बालबच्चाहरू रातभर प्रहरी चौकीमै बिताउन बाध्य भए।”

यसैबीच, पालिका अध्यक्ष पक्राउ परेको विरोधमा उनका आफन्त र समर्थकहरूले जिल्ला प्रहरी कार्यालय, सिरहामा ढुंगामुढा गरेका छन्। उनीहरूले पालिका अध्यक्ष र पूर्ववडाध्यक्षको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी लाठीचार्ज गर्दा केही व्यक्ति सामान्य घाइते भएका छन्।

यस घटनापछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहाललाई गृहमन्त्रालय तानिएको छ।

विस्थापित परिवारलाई एकान्त ठाउँमा फुसको घर बनाएर सारिएको छ, जहाँ बिजुली र पानीको सुविधा छैन। साथै, उक्त स्थान वर्षायाममा बाढीको जोखिममा पर्ने क्षेत्र हो। यसअघि दीपक मरिक डोमको दुईकोठे पक्की घर मधेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिदिएको थियो।

साताकाे चर्चित
सम्बन्धित