विश्व पानी दिवसमा मन्त्री यादवको आग्रह : हिमनदी संरक्षण अनिवार्य
विश्व पानी दिवसमा मन्त्री यादवको आग्रह : हिमनदी संरक्षण अनिवार्य
    • बेल संचार

    • ८ चैत्र २०८१, शनिबार

काठमाडौँ ।

खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको असरले नेपालमा खानेपानी, कृषि, र जलविद्युत क्षेत्रमा गम्भीर प्रभाव पारेको बताएका छन्। आज विश्व पानी दिवस को अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल (सोफेन) द्वारा आयोजित ‘दिगो खानेपानी, सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक गोष्ठीमा बोल्दै उनले हिमनदी संरक्षणको आवश्यकता अपरिहार्य रहेको उल्लेख गरे।

मन्त्री यादवले भने, ‘पानी जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन। यसर्थ हिमनदीको संरक्षण गर्नु अनिवार्य छ।’ उनले संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्ने प्रतिबद्धता नेपाल सरकारले लिएको समेत बताए।

गोष्ठीमा प्रमुख अतिथि रहेका मन्त्री यादवले नेपालका ३८०० भन्दा बढी हिमनदीहरू रहेको जानकारी गराउँदै सगरमाथा क्षेत्रका खुम्बु ग्लेशियर, ङोजोङ्मा ग्लेशियर जस्ता प्रमुख हिमनदीहरू जलवायु परिवर्तनको असरमा परेको उल्लेख गरे।

सरकारका नीति तथा अभियानहरू

नेपाल सरकारले ‘एक घर, एक धारा’ र ‘जनताको पानी, सरकारको लगानी’ जस्ता नीति अघि बढाएको उल्लेख गर्दै मन्त्री यादवले खानेपानी पहुँच विस्तारमा यी योजनाहरूले महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

विश्व पानी दिवस २०२५ को नारा ‘ग्लेसियर संरक्षण गरौँ’ भन्ने तय गरिएको जानकारी दिँदै उनले स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) केवल मौलिक हक नभई, सामाजिक न्याय, सार्वजनिक स्वास्थ्य, आर्थिक समृद्धि, र वातावरणीय सन्तुलनको आधार हो भन्नेमा जोड दिए।

गोष्ठीमा खानेपानी मन्त्रालयका सहसचिव ई. मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, उपमहानिर्देशक रामचन्द्र काफ्ले, तथा सोफेनका पदाधिकारीहरू सहभागी रहेका थिए।

साताकाे चर्चित
सम्बन्धित