काठमाडौं ।
अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आफ्नो कार्यभार सम्हाल्न वासिङ्टन डीसीस्थित नेपाली दूतावास पुगेका छन्।
चार महिनाअघि नियुक्त भएका रेग्मीले शुक्रबार कार्यकक्षमा उपस्थित भई आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्। नेपाली दूतावासका अनुसार उनले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्न सुरु गरेका छन्।
रेग्मी गत कात्तिक २५ गते अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका थिए भने उनले मंसिर १६ गते राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
पूर्वमुख्यसचिवसमेत रहेका रेग्मी यसअघि बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीमा थिए। अमेरिकाका लागि राजदूत नियुक्त हुनुअघि उनलाई भारतका लागि राजदूतका रूपमा सिफारिस गरिएको थियो।
रेग्मीले नेपाल सरकारको मुख्यसचिवका रूपमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरेका थिए।