म्याग्दी ।
म्याग्दी जिल्लामा हिमपात र हिउँदे वर्षा भएको छ। लामो समयपछि भएको वर्षाले किसानलाई ठूलो राहत मिलेको छ। वर्षा नहुँदा गहुँ, जौँ, आलुजस्ता खाद्यबालीसँगै सागसब्जी तथा फलफूल खेती प्रभावित भएका थिए।
हिउँदभरि पानी नपर्दा खेतीबाली सुक्ने अवस्थामा पुगेको थियो। तर, शनिबार दिउँसो भएको वर्षाले खेतबारीमा लगाइएका मकै, सिमी लगायतका बालीलाई सिँचाइ पुगेको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताए। उनका अनुसार वर्षाले जमिन भिजाउने मात्र नभई किसानलाई राहतसमेत प्रदान गरेको छ।
यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको हो। जिल्लाको गुर्जा, कुइनेमाङ्गले, मल्कबाङ लगायतका उच्च पहाडी क्षेत्रमा शनिबार साँझदेखि हिमपात हुन थालेको छ। हिउँदयाम सुक्खा हुँदा घाँसपातसमेत सुकेको थियो। तर, अहिले वर्षासँगै भएको हिमपातले केही राहत मिलेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले जानकारी दिए।
यसैबीच, पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायतका पर्यटकीय स्थलहरूमा हिमपात भएको छ। हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीहरूले बताएका छन्।