मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ। २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकले लेक लागेर ज्यान गुमाएका हुन्।
सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।
उनका अनुसार, मुक्तिनाथ दर्शन तथा भ्रमणका क्रममा मुस्ताङ आउने पर्यटकमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा, र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेहरू ५८ देखि ८१ वर्ष उमेर समूहका रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार, २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच, र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो। मृतकमध्ये ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेका छन्।
यसअघि, २०८० सालमा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए। तिनमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका थिए। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय, स्थानीय तह, प्रदेश अस्पताललगायत सरोकारवाला निकायले लेक लाग्ने समस्या र यसको समाधान सम्बन्धी चेतनामूलक कार्यक्रम, प्रचारप्रसार, तथा पर्चा–पम्प्लेट वितरण अभियान सञ्चालन गर्दैआएका छन्। त्यस्तै, प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रममार्फत मुस्ताङ आउने पर्यटकलाई सचेत गराउने प्रयास गरिरहेका छन्।
विशेषगरी, बेँसीका समथर स्थानबाट उच्च हिमाली क्षेत्रमा हतारहतार यात्रा गर्दा पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ। समुद्री सतहबाट ३,८०० मिटरको उचाइमा पुगेपछि लेक लाग्न थाल्छ। ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति, तथा दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई बढी जोखिम हुने जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले बताए।