बेरुत ।
इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ। लेबनानबाट इजरायलमाथि रकेट आक्रमण भएपछि प्रतिकारस्वरूप इजरायलले यस्तो कारबाही गरेको हो।
इजरायली सेनाका अनुसार, उसले दक्षिणी लेबनानमा रहेका दर्जनौँ रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको छ। इजरायली आक्रमणमा बालबालिकासहित सात जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित विभिन्न सशस्त्र समूहहरू सक्रिय रहेका छन्। तर, इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी अहिलेसम्म कुनै पक्षले लिएको छैन।
इजरायलले गाजामा हिजबुल्लाहको सहयोगी हमासविरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो। इजरायली सेनाका अनुसार, उत्तरी इजरायलको मेतुला शहरमा प्रहार गरिएका तीनवटा रकेटहरू रोकिएको र आक्रमणमा कुनै हताहत नभएको छ।
यसैबीच, हिजबुल्लाहले यी आक्रमणहरूसँग आफू असम्बन्धित रहेको बताएको छ। समूहले युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ।