काठमाडौं ।
राष्ट्रिय सभा बैठक आइतबार निर्धारित समय दिउँसो १२:१५ मा सुरु हुन सकेन। राष्ट्रिय सभा बैठक सामान्यतः समयमा सुरु हुने गरे पनि आइतबारको बैठक ढिलोगरी सुरु भएको हो।
आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त विधेयक प्रस्तुत गरेका थिए।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त अन्य विधेयकहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ती विधेयकहरूमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, तथा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ समावेश छन्।