रसुवा ।
रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरू गरेको छ। ‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैर-सरकारी संस्थाको सहयोगमा डा. सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफल शल्यक्रिया गरेको छ।
विशेषज्ञ चिकित्सक उपलब्ध भएपछि अब स्थानीय स्तरमै एपेन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले जनाएको छ। यसअघि, बिरामीलाई काठमाडौँ वा अन्य ठूला अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो।
सोही संस्थाको सहयोगमा अस्पतालले १८ जना महिलाको सफल शल्यक्रिया गरी सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेको छ। विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती महिला र खप्नै नसक्ने गरी पेट दुख्ने समस्या भएका बिरामीलाई शल्यक्रियामार्फत उपचार गर्न थालिएको छ।
यसै क्रममा, पाठेघरको नलीमा गर्भ बसेर जटिल अवस्थामा पुगेकी २८ वर्षीया एक महिलाको पनि गत शुक्रबार सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
यसअघि गम्भीर बिरामीहरूलाई ‘बुस्कोपान’ नामक दुखाइ कम गर्ने इन्जेक्सन दिएर काठमाडौँ पठाउने गरिन्थ्यो। तर, अब अस्पतालमै आवश्यक दक्ष जनशक्ति र उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेको छ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार स्थानीय अस्पतालमै जटिल उपचार सेवा उपलब्ध हुन थालेपछि रसुवाका बासिन्दा खुशी भएका छन्।