नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

काठमाडौँ

यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनालाई कारबाही गरिएको छ। आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आयोजना गरेको कार्यक्रममा कारबाही गरिएको जानकारी दिइएको हो।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी तथा यातायात मजदुर सबैको उत्तिकै जिम्मेवारी रहेको छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यात्रुको झोला तान्ने तथा अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले बसपार्कलाई सुरक्षित बनाउन प्रहरी सक्रिय रहेको बताए।

प्रहरी निरीक्षक राजन खड्काका अनुसार चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको छ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले पछिल्लो समय कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएको उल्लेख गर्दै यात्रुहरूलाई सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न आग्रह गरे।

हाल नयाँ बसपार्कबाट देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ।

साताकाे चर्चित
सम्बन्धित