Hordeum vulgare
गुल्मी ।
गुल्मी जिल्लामा गहुँ उत्पादन बर्सेनि घट्दै गएको छ। जिल्लाका विभिन्न स्थानमा गहुँ खेती गर्ने कृषकको संख्या घट्दै जाँदा उत्पादन पनि प्रभावित हुन थालेको छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर ६,३७० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो, जसबाट १९,५०० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। त्यसअघिको आर्थिक वर्ष २०७९/०८० मा ६,४८० हेक्टर क्षेत्रफलमा १९,३७५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो।
कृषि ज्ञान केन्द्र गुल्मीका कृषि प्रसार अधिकृत शिवप्रसाद बञ्जाडेका अनुसार गहुँ खेती गर्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ। यस वर्ष पनि हिउँदे समयमा पर्याप्त वर्षा नभएकाले गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ।
जिल्लाका जेहाङ्ग, अर्बेनी, चौरासी, मजुवा, हर्मिचौरलगायतका स्थानहरू गहुँखेतीका लागि उपयुक्त मानिन्छन्। तर, पछिल्ला केही वर्षयता हिउँदे वर्षा कम भएकाले उत्पादनमा गिरावट आएको छ।
धुर्कोट गाउँपालिका–५ का कृषक कृष्णप्रसाद भण्डारीले पछिल्ला केही वर्षयता हिउँदे वर्षात नहुँदा गहुँ उत्पादनमा असर परेको बताए। उनले ४ रोपनी जमिनमा गहुँ खेती गर्दै आएका छन्।
गुल्मीमा उत्पादन भएको गहुँ प्रायः स्थानीय स्तरमै बिक्री हुने गरे पनि बजारमा प्याकेजिङ गरिएको गहुँको आटा सहज रूपमा पाइने भएपछि कृषकहरू गहुँ खेतीमा कम उत्साहित देखिएका छन्। साथै, उत्पादन योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढ्दो छ।
स्थानीय कृषकहरूका अनुसार समयमै वर्षा भएमा, साथै गुणस्तरीय मल–बिउको उपलब्धता राम्रो भएमा गहुँ उत्पादन बढ्न सक्छ।