दाङको साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी अपडेट , करोडौँको क्षति
दाङको साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी अपडेट , करोडौँको क्षति
    • बेल संचार

    • ११ चैत्र २०८१, सोमबार

दाङ ।

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा गएराति करिब २ बजे विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ। यो आगलागीका कारण उद्योगमा करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ।

आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायत सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योग नजिक रहेका ३० भन्दा बढी घरहरू जोखिममा परेका छन्। ती घरका सामानहरू बाहिर निकाल्ने कार्य भइरहेको छ भने त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा, कपिलवस्तु, बाँके र रुपन्देहीबाट दमकल र ट्यांकरहरू ल्याइएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ। यद्यपि, आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार, आगलागी भएको क्षेत्र नजिकैको बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। हालसम्म मानवीय क्षति नभएको बताइएको छ।

अहिलेसम्म आगलागीको कारण पूर्ण रूपमा खुल्न नसके पनि विद्युत् सर्ट नै प्रमुख कारण भएको अनुमान गरिएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

साताकाे चर्चित
सम्बन्धित