काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्षयरोग (टीबी) न्यूनीकरणका लागि सरकारी प्राथमिकताहरू पुनर्विचार गरी प्रभावकारी रणनीतिहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पौडेलले हालसम्मका प्रयासहरूले अपेक्षित परिणाम नदिएकोले नयाँ दृष्टिकोण आवश्यक भएको बताए।
उनले मित्रराष्ट्रहरूसँग सहकार्य गर्दै साझा नीति अवलम्बन गर्नुपर्ने र शतप्रतिशत उपलब्धि हासिल गर्न नीतिगत व्यवस्थाहरू आवश्यक रहेको उल्लेख गरे। साथै, क्षयरोग केन्द्रमा सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए।
मन्त्री पौडेलले क्षयरोगका बिरामीहरू खोज्न स्थानीय तहको सक्रियता आवश्यक रहेको र मन्त्रालय वा चिकित्सकले मात्र खोजेर नभेटिने बताए। यसका लागि पालिकाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।