काठमाडौं ।
प्रमुख दलका शीर्ष नेताहरू संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने उद्देश्यले नयाँ सिफारिस समिति गठन गर्न सहमत भएका छन्।
सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने प्रक्रियालाई पुनः अघि बढाउने निर्णय गरेका हुन्।
यसअघि, पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन गरिएको सिफारिस समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिस गर्न नसकेको कारण प्रक्रिया अवरुद्ध भएको थियो।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार, “बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन प्रक्रिया अघि बढाउन शीर्ष नेताहरूबीच सहमति भएको छ।”
सिफारिस समितिको म्याद सकिएपछि संक्रमणकालीन न्यायको प्रक्रिया प्रभावित हुँदै आएको थियो। अब नयाँ सिफारिस समिति गठन भएपछि पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढ्ने र संक्रमणकालीन न्यायसम्बन्धी कार्यहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।