काठमाडौं ।
सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा एक व्यक्तिको मृत्यु भएको छ। उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।
ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकामध्ये हत्यामा कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
‘नियन्त्रणमा रहेका व्यक्तिहरूमध्ये स्क्रिनिङ गरेपछि मात्रै कसको संलग्नता छ भन्ने थाहा हुन्छ। त्यसपछि मात्र घटनाका विषयमा सार्वजनिक गर्नेछौं,’ एसपी बोहोराले भने।
यस घटनामा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिएको थियो, जहाँ राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो। होली पर्वको दिन भएको घटनालाई लिएर दुई समूहबीच विवाद भएपछि झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विवादपछि २१ वर्षीय रोहित खड्का, बिनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ।
झडपमा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ, र चन्द्रागिरि नगरपालिका-१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले जानकारी दिए।