नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक-२०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फोलो, वाइज मनी टुमारो’ भन्ने नारासहित ग्लोबल मनी वीक मनाइएको थियो। यस अभियानमा नबिल बैंकले ४,००० भन्दा बढी विद्यार्थी र युवाहरूसँग वित्तीय साक्षरता सम्बन्धी जानकारी साझा गरेको हो।
नबिल बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि विद्यार्थी र युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपले सचेत गराउने उद्देश्यले विभिन्न विषयमा जानकारी दिइएको थियो। कार्यक्रमका प्रमुख विषयहरूमा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता र साइबर सुरक्षा समावेश थिए।
नबिल बैंकले सातै प्रदेशका विभिन्न स्थानमा आयोजित कार्यक्रमबाट कोशी प्रदेशका ७४४, मधेश प्रदेशका १,०६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी र युवा लाभान्वित भएका छन्।
बैंकले वर्षभरि विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्दै वित्तीय साक्षरता र डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने कार्यमा संलग्न छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका क्षेत्रहरूमा काम गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन लक्ष्य राखेको छ।