विराटनगर।
पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ। उपप्राध्यापक पदमा बढुवाका लागि जारी गरिएको विज्ञापन गैरकानुनी भएको भन्दै १७ फागुनदेखि तालाबन्दी गरिएको हो।
नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक भट्टराईका अनुसार, नयाँ कार्यविधि बनेपनि पुरानै कार्यविधि अनुसार बढुवा सूचना जारी गरिएको कारण तालाबन्दी गरिएको हो। उनले भने, “संशोधित नियमावलीअनुसार उपप्राध्यापक पदको सबै विज्ञापन खुला गर्नुपर्ने हो, तर सेवा आयोगले पुरानो नियमावलीको आधारमा प्रक्रिया अघि बढाएको छ।”
पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० अनुसार विश्वविद्यालय सञ्चालन हुन्छ र यसका आधारमा नियमावली २०५३ जारी भएको छ। २०७८ मा बसेको ३५औं सभा अनुसार विश्वविद्यालयको नियमावलीमा संशोधन गरिएको थियो, जसको आधारमा शिक्षक छनौट गर्नुपर्ने थियो, तर सेवा आयोगले पुरानो नियमावलीको आधारमा प्रक्रिया अघि बढाएको नेविसंघको आरोप छ।
तालाबन्दीअघि नेविसंघले संशोधित नियमावली अनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो, तर सेवा आयोगले पुरानो नियमावली अनुसार विज्ञापन निकालेको कारण विवाद उत्पन्न भएको हो।