काठमाडौँ ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुमबासी बस्तीहरूमा खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। मंगलबार काठमाडौंका विभिन्न सुकुमबासी बस्तीहरूको निरीक्षण गर्दै साहले सरकार अमानवीय रूपमा प्रस्तुत भएको आरोप लगाए।
साहले प्रधानमन्त्री, मन्त्री र सीमित नेताहरूले आफ्नो क्षेत्रको मात्र समस्या समाधान गर्न केन्द्रित भएको बताउँदै काठमाडौंका सुकुमबासी बस्तीहरूको समस्या समाधानमा सरकारलाई ध्यान दिन आग्रह गरे। उनले सुकुमबासी बस्तीहरूमा आधारभूत सेवाको अभाव रहेको उल्लेख गर्दै सरकारले तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले भने, “नेताहरूले आफ्नो क्षेत्रमा लालपुर्जा बाँडिरहेका छन्, तर काठमाडौंका सुकुमबासीहरूको समस्या समाधानमा चासो दिइएको छैन। सरकारले सुकुमबासीहरूलाई लालपुर्जा वितरण गरेर यो समस्या समाधान गर्नुपर्छ।”
साहले वर्तमान दलतन्त्रकै कारण सुकुमबासी समस्या समाधान नहुँदै आएको आरोप लगाउँदै तेस्रो जनआन्दोलनको आवश्यकतामाथि पनि जोड दिए। उनले सुकुमबासी समस्या समाधानका लागि जनतालाई तेस्रो जनआन्दोलनमा सहभागी हुन आह्वान गरे।