ललितपुर:
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै टिकाउ र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को ललितपुरको कुपण्डोलमा आयोजित १०औं महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजबुत पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ। इन्जिनियरहरूले भौगर्भिक अवस्थाको मूल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ। खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन। कानुनी समस्याहरू सुधार गर्न आवश्यक भएमा सुझाव दिनुहोस्, सरकारले त्यसमा ध्यान दिनेछ।”
समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्नेमा पनि जोड दिए।
उनले विक्रम संवत् २०४६ पछि देशमा विकासको गति तीव्ररूपमा अगाडि बढेको र आफू प्रधानमन्त्री हुँदा भूकम्पपछिको पुनर्निर्माणमा ‘विल्ड वेटर’ को नारासहित जुटेको स्मरण गराए।
“पूर्वाधार विकास विना समृद्धि सम्भव छैन। पूर्वाधारले बजारको सिर्जना गर्छ, उद्यमशीलता प्रवर्द्धन गर्छ। बलियो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको योगदान प्रशंसनीय छ,” प्रधानमन्त्री ओलीले भने।
उनले देशमा विमानस्थल, पुल र ट्रान्समिसन लाइनहरूको निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको भन्दै विकास नदेखिएको भन्ने आरोप निराधार रहेको बताए।