नवलपरासी।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह नवलपरासी पश्चिममा दशौं समूहको कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम १०५ जनाले सफलतापूर्वक सम्पन्न गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त तालिममा ६ जना प्रहरी निरीक्षक, १५ जना प्रहरी सहायक निरीक्षक र ८४ जना प्रहरी जवान सहभागी थिए। कमाण्डो तालिम प्रहरी संगठनभित्र सबैभन्दा कठिन मानिने तालिममध्ये एक हो।
तालिमको दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा तालिम सफल बनाउन विशेष योगदान गर्ने प्रशिक्षकहरूलाई प्रशंसा पत्र प्रदान गरे।
प्रहरी महानिरीक्षक थापाले प्रहरीमा सञ्चालन हुने तालिमहरूमध्ये कमाण्डो तालिम सबैभन्दा कठिन भएको उल्लेख गर्दै यस तालिम पूरा गर्नु ठूलो उपलब्धि भएको बताए। उनले यस तालिमले प्रहरीलाई चुनौतीपूर्ण परिस्थितिमा आवश्यक रणनीति, ज्ञान, सीप र कलाहरू प्रयोग गर्दै दक्षतापूर्वक कार्यसम्पादन गर्न सक्षम बनाएको बताए।
समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, र एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल (EOD) डेमोन्स्ट्रेशन प्रदर्शन गरेका थिए।