नेपालकै प्रसिद्ध तीर्थस्थल देवघाटधाममा गलेश्वर आश्रमद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
नेपालकै प्रसिद्ध तीर्थस्थल देवघाटधाममा गलेश्वर आश्रमद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
    • बेल संचार

    • १२ चैत्र २०८१, मंगलवार

देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिनेगरी २०८२ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ।

गलेश्वर धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले मंगलबार पोखराको रामघाटस्थित गीता मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरेका हुन्।

स्वामी महाराजले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय शुरू गर्ने/खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले सजिलै छुट्ट्याउन सक्नेगरी तयार गरिएको बताए।

उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि, कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्ट्याउन सकिने गरी तयार गरिएको छ। पवित्र तीर्थस्थल गलेश्वर आश्रमको महिमा झल्काउने खालका तस्वीर पनि भित्तेपात्रोमा समावेश गरिएको छ।

गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले करिब ६ दशकअघि गरेका हुन्। गलेश्वर बाबाले आफ्नो धर्म, संस्कृति र संस्कारलाई चीरकालपर्यन्त कायम राख्न २०२३ सालमा स्थापना गरेको वेद–वेदाङ्ग विद्यालय आश्रम अन्तर्गत नै सञ्चालन गरिरहेको छ।

आश्रमले धाममा बसोबास गर्ने साधक सन्त तथा तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र पनि नियमित रूपमा सञ्चालन गरिरहेको छ। आश्रमले घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज र सुन्दर कल्पवास निर्माण गरेको छ।

पवित्र देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारका लागि आश्रमले धर्मार्थ अस्पताल सञ्चालन गरेको छ। यसका साथै, एक हजार हाराहारीलाई सजिलै बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ, जहाँ निःशुल्क भोजन र बसोबासको व्यवस्था छ। अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ।

आश्रमले तिथि अनुसारका धार्मिक अनुष्ठानहरू पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

 

साताकाे चर्चित
सम्बन्धित