आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा
आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा
    • बेल संचार

    • १२ चैत्र २०८१, मंगलवार

काठमाडौं,

रोजगार बजारमा बढ्दो दक्ष जनशक्तिको मागलाई पूरा गर्ने लक्ष्यसहित आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा ‘काठमाडौं टेक्निकल स्कुल’ सञ्चालनमा आएको छ। मंगलबार एक विशेष समारोहका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले स्कुलको औपचारिक उद्घाटन गर्नुभयो।

काठमाडौं टेक्निकल स्कुलले हस्पिटालिटी, कुलिनरी आर्ट्स, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक तालिम सञ्चालन गर्नेछ। यस स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

श्रम मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीको समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार प्राविधिक जनशक्ति उत्पादन सरकारको प्रमुख प्राथमिकता हो, र यस क्षेत्रमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर छ।

आफ्नो अढाइ दशक लामो व्यवसायिक यात्रामा आइएमई ग्रुपले बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, म्यानुफ्याक्चरिङ लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरिसकेको छ। यस समूहअन्तर्गत २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौंलाई स्वरोजगार बन्न सहयोग गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै समूहले प्राविधिक जनशक्ति उत्पादनमा ठोस कदम चालेको छ। “हामीले आगामी दशकभरिमा १ लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो।

आईएक्सआई कर्पले वैकल्पिक लगानी, ऊर्जा, शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा कार्य गर्दै आएको छ। आईएक्सआई कर्पको सहकार्यमा सञ्चालनमा आएको काठमाडौं टेक्निकल स्कुलले विद्यार्थीहरूलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको छ।

स्कुलका अध्यक्ष मनोज पौडेलका अनुसार यस संस्थाले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न र विदेशमा समेत प्रतिस्पर्धा गर्न योग्य बनाउने लक्ष्य राखेको छ। उहाँका अनुसार यो संस्थाले स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर व्यावसायिक तालिम प्रदान गर्नेछ।

कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित