काठमाडौं ।
यो वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन शुरु गरिएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन्।
हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन्। विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन थालेको जानकारी दिए। उनले सगरमाथा आरोहणका लागि पनि छिट्टै अनुमति दिइने बताए।
सगरमाथा आधार शिविरमा स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सपिडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन्।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाइसकेको छ।
सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) कामका लागि दक्ष सगरमाथा आरोही खटिएका छन्। पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई यो जिम्मेवारी दिएको छ।
सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ।