नेविसंघले नेपालटारमा रिले अनसन सुरु गर्‍यो, स्ववियु निर्वाचन सुनिश्चितता माग
नेविसंघले नेपालटारमा रिले अनसन सुरु गर्‍यो, स्ववियु निर्वाचन सुनिश्चितता माग
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौँ ।

काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रिले अनसन सुरु गरेको छ। स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन सुनिश्चितताको माग गर्दै नेविसंघले आजबाट रिले अनसन सुरु गरेको हो।

त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएको थियो, तर तयारी पूरा भएपनि विभिन्न बहानामा निर्वाचन रोकिएको थियो। नेविसंघका अनुसार, निर्वाचन जित्ने सम्भावना देखेपछि विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितता माग गर्दै रिले अनसन सुरु गरिएको हो।

नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका इकाई अध्यक्ष महेशमणि पौडेलले भने, “हाम्रो संगठनले कलेजमा जित्ने देखिएपछि निर्वाचन नगराउने प्रपञ्च रचिएको छ। हामी विद्यार्थीको हक अधिकार सुनिश्चितताका लागि निर्वाचन चाहन्छौँ।”

स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन्। उनका अनुसार, स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्न र स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न माग गरिएको छ। यदि यी मागहरू पूरा नगरेमा, उनले आमरण अनसन बस्ने चेतावनी दिएका छन्।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। यस वर्ष निर्वाचनका सम्पूर्ण तयारी भएपनि क्याम्पस प्रशासनले निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप रहेको छ।

साताकाे चर्चित
सम्बन्धित