काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै संसद्का दुवै सदनको बैठक अवरोध गर्ने विपक्षी दलहरूको निर्णयलाई समर्थन जनाएका हुन्।
‘लामो अहिले केही भन्नु छैन। प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न नदिने हामीले भनेका छौं। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ।’