काठमाडौँ ।
नेपालका लागि जापानी राजदूत तोरु मायदाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री गुरुङले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे।
मन्त्री गुरुङले जापानको ओसाकामा हुन लागेको नेपाल–२०२५ वर्ल्ड एक्सपोले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे।
सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने अवसरमा जापानसँग थप विकास सहायता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले नेपाल र जापानबीचको ७० औँ कूटनीतिक सम्बन्ध वर्षगाँठका अवसरमा सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा राखे।
नेपालमा जापानले गरेको आर्थिक, सामाजिक, विकासका क्षेत्रमा सहकार्यको प्रशंसा गर्दै मन्त्री गुरुङले जापानलाई नेपालको एक महत्वपूर्ण र विश्वासिलो विकास साझेदारका रूपमा व्याख्या गरे। उनले जापानले गरेको अनुदान, ऋण, प्राविधिक सहयोग र मानवीय सहायता प्रति आभार व्यक्त गरे।
राजदूत मायदाले जापान नेपाललाई सधैँ सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले जापानमा करिब दुई लाख नेपाली अध्ययन, रोजगारी र व्यवसायमा आबद्ध रहेको जानकारी गराउँदै नेपाली परिकारप्रति आफ्नो रुचि र नेपालका पर्यटकीय स्थल भ्रमण गर्ने चाहना व्यक्त गरे।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौला, सूचनाप्रविधि विज्ञ डा. शालिग्राम पराजुली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति रहेको थियो।