सुनसरीको सेन्टर प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार, नियन्त्रण प्रयास जारी
सुनसरीको सेन्टर प्लाजामा भीषण आगलागी, ११ जनाको उद्धार, नियन्त्रण प्रयास जारी
    • बेल संचार

    • १३ चैत्र २०८१, बुधबार

काठमाडौं।

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार लगभग ८० प्रतिशत आगो नियन्त्रणमा आएको भए पनि बाँकी आगो निभाउने प्रयास जारी छ। आगलागी आज बिहान साढे ९ बजे सुरु भएको थियो।

नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीसहितको टोली आगो निभाउन खटिएको छ। आगलागीको कारण अझै स्पष्ट भइसकेको छैन।

उक्त प्लाजाको सातौं तलामा फसेका ११ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ३ जना महिला र ८ जना पुरुष छन्। एक जना सामान्य घाइतेलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्, जसमा नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १, र नेपाली सेनाका १ जना रहेका छन्।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकल परिचालन गरिएको छ। इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, विराटनगर महानगरपालिका, देवानगञ्ज नगरपालिका र प्रदेश प्रहरी कार्यालयबाट दमकल ल्याइएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित